Coordination, Innovation, Celebration

फेलोसिपले मलाई जे सिकायो



नारायण अधिकारी

उज्यालो पछि अँध्यारो र अँध्यारो पछि उज्यालो सधैं भइरह्यो तर यो एकैनासको कहिल्यै भएन ।
हरेक दिन फरक भएर बित्यो यो वर्ष पनि ।
असिम अनुभूतिहरु सँगालेर काठमाडौं फर्कने दिनसम्म जनकपुर वरवरका आँपका बगैंचाहरुमा लटरम्म चिचिलाहरु लागेका देखिन्थे ।
मानिसका आ-आफ्नै रफ्तार हेर्दा यस्तो लाग्थ्यो कि मनभित्र सबैका सपनाका चिचिलाहरु यसैगरि भर्भराईरहेछन् ।
उखरमाउलो गर्मिको के कुरा गर्नु, सम्झँदैमा पसिना छुट्छ ।
एक बर्षे जनकपुर यात्रा जिवनरेखाबाट हटाईदिने हो भने मेरो सारा जिन्दगी साँच्चिकै बेकारको हुनेछ ।
लक्ष्मीप्रसादलाई आफ्नो साहित्य यात्रामा 'मुनामदन' जसरी प्रिय बन्यो उस्तै भयो मेरो जिवन यात्रामा धनुषामा टिच फर नेपालको फेलोसिप पनि ।
अरुले मलाई पक्कै पनि 'पढाउने मान्छे' सोचे तर म धेरै कुराहरु 'पढ्ने मान्छे' भएर आएँ ।
अरुले मलाई 'सबैलाई माया गर्ने मान्छे' भन्ने बुझे तर म 'आफैंलाई धेरै माया गर्ने मान्छे" भएँ ।
कतिपयले मलाई 'अरुलाई बदल्न हिडेको मान्छे' ठाने तर म सम्पुर्ण रुपले आफैं बदलिएँ ।
हो, मैले आफ्नो फेलोसिपमा जिवनको स्वार्थ भेट्टाएँ, कर्मको अनुपम सन्तुष्टी भेट्टाएँ ।
कतिपयको मुखबाट यदाकदा सुन्छु :- 'मेरो लागि कुनै बाटो छैन....'
"सबैको लागि बाटो पहिलेनै बनिसकेको छ, आँखा खोलेर हेर्ने मात्र आफ्नो काम हो" । आँखै बन्द गरेर कहाँ बाटो देखिन्छ त ?
ज्ञान, विवेक र बिश्वास जति बढायो, उति नै बाटोहरु देख्ने आँखाहरु चम्किला हुने रहेछन् ।


एस.एल.सि. परिक्षा सुरु हुन एक महिना पनि बाँकि नहुँदा परिक्षाको तयारी गरिरहेकी कक्षा १० मा अध्यायनरत एक छात्राको बिहे भयो । म निम्तो मान्न उनको घरमा जाँदा दुलही पहिरनमा सजिएकी उनले मेरो बडो स्वागत गरिन् । आफ्नै हातले खाना पस्केर दिइन् ।
म सोचमग्न भएँ । भोजका बिभिन्न परिकार लिएर मेरो अगाडी आइरहँदा मेरो आँखाले उनलाई होमवर्क देखाउन आईरहेकी एउटी मिहेनती बिद्यार्थी मात्रै देखिरह्यो ।
बेहुला बेहुलीको लागि सजाईएको कारमा चढ्नुअघि उनले आफ्नी मिल्ने साथीसँग एउटै थालमा भोज खाईन् । सायद उनिहरुले यो विवश बिछोडलाई साँस्कृतिक परम्पराको रुपमा सहज ठाने ।
मन चोर्ने हेतुले साथीचाहिँलाई मैले सोधें -"तिमि चाहिँ भोज कहिले खुवाउँछौ त?"
'म अहिल्यै भोज खुवाउँदिन सर' ।
'किन' ?
"किनकि मेरो सपना पूरा गर्नु छ" ।
'तिमि जुन अवस्थामा छौ, त्यसले तिम्रो सपना पूरा गर्न देला' ?
"तपाईले नै भन्नुभएको होईन, आफुमा विश्वास राख्नुपर्छ भनेर ? म मा पुर्ण विश्वास छ"
म झसङ्गै भएँ ।
भोलिपल्ट विद्यालय जाँदै गर्दा कोहि बच्चा रोईरहेको आवाजले मेरा पैतालाहरु टक्क अडिए । यसो हेरें साडिको सप्कोले टाउको सहित मुख छोपेर कोहि बिबाहिता भक्कानो छोडेर रुँदै थिइन् । 'के भएछ' भनेर बुझ्न खोज्दा कसैले बतायो- 'उनका श्रीमानले मदिराको मातमा बेस्सरि पिटे रे’ ।
आँपका चिचिला जस्तै धेरै बालिकाहरुका सपनाहरु बढ्नै नपाई सामाजिक हुरिले उडाइरहेको आभाष भयो मलाई ।
फर्केर हेर्दा ति अनेक आँखाहरुमा खेलिरहेका सुखद् भबिष्यका अभिलाषाहरु देखेर म भावविभोर हुन्छु ।
'तपाईबाट हामीले धेरै कुरा सिक्न पायौं, हामीलाई छोडेर नजानुस्, हाम्रो आँखाभरि आँशु हुन्छ' भन्ने निर्दोष मनका आवाजहरुले सायद मलाई आजीवन प्रेरणा दिईरहने छ ।


अप्ठ्यारोमा साजिलोको खोजि, अभाबमा अनेक प्राप्तिको खोजि, अहम् भाबमा सम्मानको खोजि भईरहने मृगतृष्णालाई सोचाई र बुझाईको परिबर्तित शैलिले काबुमा ल्याईदिएको छ आज ।
मेरो मन यति धेरै सजिब र यथार्थ कथाहरुले भरिएका छन्, र यसले मलाई यति धेरै बलियो बनाएको छ कि अब म जहाँ पुगेर जे पनि गर्न सक्छु ।
'काम' प्राय सबैले पाउँछन् तर 'आफ्नो महत्व अनुभूत गर्न पाइने काम' कमैले पाउँछन् । जीवनको सार्थकता आफैं भित्र हुँदो रहेछ भन्ने कुरा मलाई फेलोसिपले सिकायो। 
Share:

0 response(s):

Post a Comment

Comment here !

Popular Posts