बाल कथा: जङ्गल र मान्छे

आज विद्यालयमा फरक खालको वातावरण थियो। हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो। त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ। मौसम चिसो थियो। आकाशमा बादल लागेर धुम्म थियो। पानी पर्ला पर्ला जस्तै थियो। हामी दगुरेर विद्यालय पुग्यौं। हामी सायद पहिल्यै पुग्यौं क्यारे, हेडसरले "स्याबास!" भन्नु भो। आज विश्व वातावरण दिवस रहेछ। थाहा नै थिएन। अरु सर र  मिसहरु पनि आइपुग्नु भयो। सबैले फूलको गुच्छा हात लिएर आएको देख्दा मलाई खुल्दुली लाग्यो। "सर किन सबै सर म्याडमहरुले फूलको गुच्छा समात्नु भएको हातमा?" मैले प्रकाश सरलाई सोधेँ ।" ए, आज गाउँ-पालिकाका अध्यक्षज्यु आउँने अरे हाम्रो स्कुलमा। त्यसैले स्वागतका लागि फूलको गुच्छा लिएको।" प्रकाश सरल्रे लेग्रो तानेर जवाफ दिनुभयो।
 
एकछिन पछि सबै जना उपस्थित भए। गाउँपालिका अध्यक्षले उद्घाटन गर्नुभयो। "जङ्गल र मान्छे " शीर्षकमा हरि सर (जो हामीलाई नेपाली पढाउनु हुन्छ)ले  मिठो लयमा कविता सुनाउनुभयो। उक्त कविताले जङ्गल बिनाको मान्छेको जिन्दगीको कहालीलाग्दो परिकल्पना झल्काउथ्यो। त्यसपछि "जङ्गल र मान्छे" शीर्षकमा लघु-नाटक प्रस्तुत भयो। सुनिताले पनि एउटा भूमिका प्रस्तुत गरि। बल्ल थाह भयो। हामीले पिउने प्रत्येक घुट्को पानी जङ्गलकै देन हो।  हामीले फेर्ने प्रत्येक धड्कन स्वास जङ्गलकै देन हो। र हामी बिरामी पर्दा खाने झारबुटि जङ्गलकै उपहार हो रहेछ। लघु नाटकले मानिस र जङ्गलको बीचमा गहिरो नाता छ भन्ने संदेश दियो।
 
कार्यक्रमको अन्त्यमा हेडसरले मेरो र खुशीको नाउँ लिएर बोलाउनु भयो। सुरुमा त अलिअलि डर लाग्यो। पोहोर विद्यालयस्तरिय चित्रकला प्रतियोगितामा म र खुशी प्रथम र द्वितीय भएकोले पुरस्कार थाप्न बोलाउनु भएको रहेछ। दुइ हजार नगद र प्रमाणपत्र प्राप्त गरियो। उक्त चित्रपनि जङ्गल र मान्छेको सम्बन्धको बारेमा नै थियो। यसरी त्यो दिनको शनिबार बितेको पत्तै भएन।
 
भोला दुलाल
टोखा न.पा.१
२०७६/०८/१८

Post a Comment

0 Comments