"लौन नि मेरो कुखुराको खोर त सबै पहिरोले लगेछ। अब के गर्ने होला?" पेम्बा अतालिएर कराउँछे।

उता पेम्बाकि आमा लौन के भो भनेर बाहिर निस्किइन।

"आम्मै के दशा लाग्यो नि धन्न घर जोगिएछ। अस्ति मात्रै दुई हजार तिरेर ल्याएको कुखुरा सबै पहिरोले लगेछ।" 

पेम्बाकी आमा थचक्क बसिन। हुनपनि पेम्बा पढाइ खर्च जुटाउन कुखुरा र हाँस पाल्ने गर्थिन। बिहान बेलुका छाक टार्न बाहेक घरमा मनग्ये आम्दानी थिएन। कुखुरालाई चारो र बस्तुभाउलाई घाँस-सोतर गर्ने जिम्मेवारी पेम्बाको थियो। ऊनको बुवा धेरै वर्ष अगाडिनै सन्निपातको ज्वोरोले थलिएर मरेका रे। पहाडमा वर्षे बिदा लामो हुने गर्छ। त्यसैले पेम्बा आजभोलि घरमै थिइन। 

"पेम्बा! कुखुरा र बस्तुको ख्याल गरे है!" आमाले पेम्बालाई सम्झाउनु भो।  

"हवस् आमा म सबै गरि हाल्छु नि।" पेम्बाले भनिन्। 

घरको सबै काम सकेर पेम्बा विद्यालयले दिएको गृहकार्य गर्दै थिइन। बाहिर चर्को घाम लागेको थियो। मानौँ अब कहिल्यै पानी पर्दैन । हुन पनि आकाशमा बादलको तुष पनि थिएन। तर केहि घन्टापछि त आकाश मडारिन थाल्यो। निलो कालो भएर मेघ आयो। चारैतिर घप्ल्याकघुप्लुक भएर पानी दर्कियो। शायद, पेम्बाले त्यस्तो पानी परेको अहिलेसम्म देखेकी थिइनन। दु:खको कुरा त पेम्बाको घर छेउमै पहिरो गयो। उनको घरको पिंढि सम्मै बगायो। पिंढिसङै रहेको कुखुराको खोरको अत्तोपत्तो थिएन।

 "धन्न भाग्यले बाँचिएछ!" आमा हस्यांङ-फस्यांङ गर्दै आउनुभो। पेम्बाले त्यस्तो दु:ख गरेर जोडेको कुखुराको खोर पहिरोले बगाउँदा आमा चिन्तित हुनुभयो। पेम्बाले त कतिदिन भातै खाइनन। बिचरी पेम्बाको दु:ख त्यसै खेर गयो।


भोला दुलाल

टोखा न.पा.१,काठमाडौं 

२०७७/०५/२२