- महेश खनाल 



आदरणीय अभिभावकज्यू
नमस्कार

म तपाईंको बाबु नानीको शिक्षक। अरुबेला तपाईलाई हाम्रो कुरा सुन्ने फुर्सद हुँदैनथ्यो तर  यतिबेला  लकडाउनको कारंण सबैजना फुर्सदमा भएको बेला तपाईले हाम्रो कुरा पनि सुन्ने समय निकाल्न सक्नुहुन्छ कि भन्ने आशा छ।


हामी शिक्षक तपाईंहरूको आँखामा सबैभन्दा निरीह प्राणी। तपाईंहरूको समाजले हामीलाई सबैभन्दा सानो दर्जा दिएको छ। अझ भन्नुपर्दा आधुनिक समाजमा प्राचिन समाजका   दासहरु को दर्जा  हामीलाई मिलेको छ। समाजले बनाएका ती दासत्व का जन्जिरहरु ले गर्दा हाम्रो संसार सानो भएको छ । हाम्रो संसार  मात्र सानो छैन हाम्रा खुसीहरू साना छन् हाम्रा सपनाहरु पनि साना छन्। आफ्नो वरिपरिको  संसार सानो  मात्र देखिएको हुनाले हामीले गर्न सक्ने बेइमानी हरु पनि साना छन्। बेइमानी चर्को मुल्यमा बिक्ने समाजमा हामीसँग बेइमानि नहुनुको कारण हाम्रो आम्दानी पनि सानो छ ।  

सानो आम्दानीमा बाँचिरहने हामीहरुका समस्या पनि साना छन ।  तलब थाप्नु अगाडिसम्म अघिल्लो महिनाको तलब सकिएन भने हामीहरु साह्रै खुशी हुन्छौं । तर त्यो सानो खुसी पनि हाम्रो सानो संसारमा कुम्भमेला जस्तै बाह्र  वर्षमा एकपटक मात्र आउँछ। तर बाह्र वर्षमा हुने कुम्भमेला मात्रै हाम्रो खुशी होइन । वर्ष वर्षमा आएपछि दशैं-तिहार जस्तै बेलाबेलामा तपाईहरुकै नानीबाबु ले " तपाईंले सिकाएको कुराले मेरो जीवनमा प्रभाव पार्यो "भन्छन् नि त्यतिबेला हामीहरु दशैंमा नयाँ कपडा पाएको बच्चा जस्तै खुशी हुन्छौँ। त्यतिखेर घरमा चामल सकिएको थाहा हुँदैनघरबेटीले बेलुका भाडा दिनु भनेको थाहा हुँदैनअरु पनि कुनै पनि कुरा थाहा हुँदैन । त्यो खुसीमा हाम्रो सानो संसार फैलिएर विशाल ब्रह्माण्ड बन्छ । तर हाम्रो दशैँ क्षणभरमा सकिन्छ ।  जब हामीहरु तपाईंसँग भेट्छौतपाईंहरुबाट गुनासाका चाङ बर्सिन्छन । त्यतीबेला भर्खर नयाँ कपडा पाएर खुसी भएको बालकको कपडा मुसाले काट्दा जस्तो महसुस गर्छठिक त्यस्तै महसुस हामी गर्छौँ।

हाम्रा कमजोरी छैनन् भनेको होइन। तर यतिचाहिँ हो हाम्रा कमजोरी मात्रै् चाहीँ छैनन । एक दुइ अपबाद छोड्ने हो भने हजारौँलाखौँ शिक्षकहरु तपाईहरुका बाबुनानीको भबिष्य बनाउन दिलो ज्यान दिएर लागीपरेका छन । न त उनिहरुले पर्याप्त तालिम पाएका छन न त सेवा सुबिधा नै । तर पनिसिमित सेवा सुबिधामा चित्त बुझाउँदैर आफै केहि सिक्दैगुणस्तरिय शिक्षा प्रदान गर्न दिलोज्यानले लागेका छन । 

मैले माथी नै भनिसके, हाम्रा खुसीहरु साना छन। हामी सानासाना कुरामा खुसी हुन सिकेका छौँ । भेटेको बेलामा हाम्रा साना साना सकारात्मक कुराहरुको समेत चर्चा गर्दिनुभयो भने हामी फुरुङ्ग बन्छौँ । हाम्रा नकारात्मक र सुधार्नुपर्ने कुरा समेत राम्रोसँग भनिदिनुभयो भने हामी सुधार गर्न सधै तयार हुन्छौँ । हामीलाइ शिक्षक हुनु भनेको हरदम सिक्न तयार हुनु हो भन्ने कुरा राम्रोसँग थाहा छ । त्यसैले तपाइँहरुले सिकाउन खोजेका कुरा सिक्न सधै तयार रहन्छौँ ।

हामी शिक्षक भएको नाताले हाम्रा बिद्यार्थीको जीवनदर्शन निर्धारण गर्ने जिम्मा समेत हाम्रो हो । त्यसैले हामीले भोगेका कतिपय नकारात्मक अनुभव र हामीले अपेक्षा गरेअनुरुप नभएर ठिक बिपरित भएका घटना हामीले कहिल्यै पनि हाम्रा बिद्यार्थीलाइ सुनाउने छैनौँ ।

हालको प्रतिकुल परिस्थितीमा समेत हामी बिद्यार्थीलाइ सिकाउन हरदम प्रयत्नशिल रह्यौँ ।  उनिहरुको अनुभव सोध्यौँ, पिडा खोज्यौँ ।  उनिहरुमार्फत तपाईँहरुको समेत दुख र असजिलो बुझ्ने प्रयत्न  गर्यौँ । तर दुख त्यतिबेला लाग्यो , जतिबेला तपाईँहरुले यत्रो लामो समयसम्म समेत तपाईँकै बाबुनानीलाइ पढाउने शिक्षक कुनै अफ्ट्यारोमा छन कि भनेर खोज्नुभएन । यो बिसम परिस्थितीमा आर्थिक नभएपनि नैतिक रुपमा सपोर्ट गरिदिनुभएको भए मात्र पनि हामी पुलकित हुने थियौँ । तर त्यो पाएनौँ । तर पनि जिम्मेवार शिक्षक भएको नाताले यो कुरा तपाईँको बाबुनानीलाई हामीले कहिले बताउने छैनौँ। किनकी यो सानो कुराले  तपाईँको बाबुनानीको मनमा ठुलो नकारात्मक बिचार पलाउन सक्छ भन्ने कुरामा हामी सचेत छौँ । हामीले कल्पना गर्ने र गर्न सक्ने एकमात्र कुरा छ, त्यो हो, हामीले पढाएका बाबुनानीहरुको ठुलो उन्नती । त्यो ठुलो कुरा दिलाउन हामीहरु हाम्रो संसार सानो बनाउन तयार छौँ । तर के हाम्रो सानो संसार तपाईँहरुको महत्वपुर्ण समयमध्ये सानो पल पाउन समेत अयोग्य हो र?

उहि
कामचोर शिक्षक